Return to BahaiPrayers.net
Facebook
आफुले दिएको चन्दा जतिसुकै थोरै भएतापनि ईश्वरका मित्रहरूले सकेजति दिने गर्नुपर्दछ । ईश्वरले कुनै पनि जीवात्मालाई उसको क्षमता भन्दा बढी अभिभारा दिनुहुन्न ।
यस्तो चन्दा सबै केन्द्रहरू तथा सबै धर्मावलम्बीहरूबाट आउनु पर्दछ । हे ईश्वरका मित्रहरू हो ! निश्चिन्त रहौ कि यो चन्दाको सट्टामा तिमीहरूको खेतीपाती, उद्योग धन्दा र व्यापारहरू कैयौं गुणा बढ्नेछन् र असल उपहारहरू तथा वरदानहरू प्राप्त गर्नेछन् । जसले एउटा सत्कर्म लिई आउछँ उसले दश गुणा बढी पुरस्कार प्राप्त गर्नेछ । यसमा कुनै शंका छैन कि जसले आफ्नो सम्पत्ति ईश्वरको मार्गमा लगाउँछ उसलाई सजीव प्रभुले प्रचुर मात्रामा दृढ बनाउनुहुन्छ ।
हे ईश्वर, मेरा ईश्वर ! तिम्रा सच्चा प्रेमीहरूको निधारलाई उज्ज्वल बनाऊ र विजय निश्चित भएका देवदूत सेनाद्वारा उनीहरूलाई सहयोग गर । तिम्रो सच्चा मार्गमा उनीहरूका पैतालाहरू स्थिर राख र तिम्रो प्राचीन कृपाद्वारा तिम्रा आशीर्वादहरूको द्वार उनीहरूको अगाडि खोलिदेऊ; किनकि तिमीले जे उनीहरूलाई दिएका छौ त्यो उनीहरूले तिम्रो मार्गमा प्रयोग गर्दछन्, तिम्रो धर्मको रक्षा गर्दछन्, तिम्रो सम्झनामा आफ्नो आस्था राख्दैछन्, तिम्रो प्रेमको लागि आफ्ना हृदय दान दिंदैछन्, तिम्रो सौन्दर्यको प्रशंसाको लागि र तिमीलाई प्रसन्न पार्ने उपायहरूको खोजीमा आफ्नो सर्वस्व समर्पित गरिरहेका छन् ।
हे मेरा प्रभु ! उनीहरूका लागि प्रचुर अंश, निर्धारित प्रतिफल तथा निश्चित पुरस्कार निर्दिष्ट गरिदेऊ ।
निःसंशय, तिमी नै हौ पालनहारा, उपकारी, दाता, कृपालु, सदैव–दानी ।
- `Abdu'l-Bahá