Return to BahaiPrayers.net
Facebook
हे नाथ, हे प्रभु र मेरो विपत्तिमा मेरो स्वर्ग ! मेरो दुःखमा मेरो ढाल तथा मेरो आश्रय ! मेरो आवश्यकतमा मेरो शरणस्थल तथा आरक्ष र मेरो एक्लोपनमा मेरो साथी ! पीडामा मेरो सान्त्वना र एकान्तमा मेरो प्रिय मित्र ! मेरो दु:खको जलनलाई शान्त गर्ने र मेरा पापहरूलाई क्षमा गर्ने ! असीम उत्साह लिएर मन, बचन र कर्मले म तिमीसित याचना गर्दछु कि तिम्रो दिव्य एकताको यस चक्रमा ती सबै कुराहरूबाट तिमी मेरो रक्षा गर जुन तिम्रो इच्छाका विपरीत छन् र तिम्रो कृपा वृक्षको छायाँमा कलङ्करहित प्रवेश गर्नमा बाधा पुर्याउने मेरा सारा अवगुणहरूलाई हटाइदेऊ ।
हे प्रभु ! निर्बलहरूमाथि दया गर, रोगीहरूलाई रोगमुक्त गराऊ र तृषितहरूको तृष्णा मेटाइदेऊ ।
जनु हृदयमा तिम्रो प्रेमको अग्नि प्रज्जवलित भइरहेको छ त्यसलाई प्रफूल्लित राख र दिव्य प्रेम र प्रेरणाद्वारा त्यसको ज्वालालाई अझ तीव्र गराऊ । दिव्य एकताको मन्दिरलाई पवित्रताको आवरणद्वारा सजाऊ र मेरो शिरलाई तिम्रो कृपाको श्रीपेचद्वारा सुशोभित गरिदेऊ ।
तिम्रो कृपा सूर्यको कान्तिद्वारा मेरो मुखलाई आलोकित गर र तिम्रो पवित्र संघारको सेवा गर्न मलाई सहायता गर ।
तिम्रा प्राणीहरूप्रतिको प्रेमले मेरो हृदयलाई परिपूर्ण गरिदेऊ र यस्तो वरदान देऊ कि म तिम्रो दयाको प्रतीक, तिम्रो अनुग्रहको चिन्ह बन्न र तिम्रा प्रियजनबीचको एकतालाई सम्वद्र्धन गर्न सकूँ; तिम्रो भक्त हुन, तिम्रो स्मरण गर्न र स्वयंमलाई बिर्सेर सदा–सर्वदा तिमीमा र तिम्रो कृपामा सन्तुष्ट रहन सकूँ ।
हे प्रभु, मेरा प्रभु ! आफ्नो कृपा र क्षमाशीलताको समीरलाई ममाथि बहन देऊ तथा आफ्नो सहायता र प्रेमको निर्झ र स्रोतबाट मलाई पिउन दऊे ।
तिम्रो रक्षा गर्ने पखेटाहरूको छायाँपुनि मलाई आश्रय प्रदान गर र तिम्रो सारालाई रक्षा गर्ने नेत्रद्वारा मलाई हेर ।
मेरो वाणीलाई तिम्रा मानिसहरूबीच तिम्रो नामको जयजयकार गर्न योग्य बनाऊ ताकि ठूला–ठूला सभाहरूमा मेरो आवाज गुञ्जियोस् र मेरा ओठहरूबाट तिम्रो प्रशंसाको मूल फुटोस् ।
साँच्चै नै, तिमी कृपाशील, स्तुत्य, सर्व–शक्तिमान्, सर्वोपरी हौ ।
- `Abdu'l-Bahá