Return to BahaiPrayers.net
Facebook
हे ईश्वर ! मेरा ईश्वर ! आफ्नो दयालुपन र कृपाद्वारा मेरो शोकहरण गर र आफ्नो सत्ताद्वारा मेरा पीडा हटाइदेऊ ।
हे मेरा ईश्वर ! तिमी देखिरहेका छौ कि चारैतिर दुःखले घेरिएको बेला पनि म तिमीतिर उन्मुख भएको छु । हे तिमी, जो सबै प्राणीहरूका स्वामी हौ र दृश्य तथा अदृश्य वस्तुहरू सबैमा व्याप्त छौ, मानिसहरूका हृदय र आत्मालाई वशमा राख्ने तिम्रो नाम र तिम्रो दयाको महासागरमा उर्लिरहेका छालहरू तथा कृपाका दिवासूर्यका प्रतापहरूद्वारा म तिमीसित प्रार्थना गर्दछु कि तिनीहरूमध्ये मेरो गणना गराऊ जसलाई कुनै पनि वस्तुले तिमीबाट विमुख गराउन सकेको छैन, हे तिमी, सारा नामहरूका मालिक र स्वर्गहरूका निर्माता ।
हे मेरा स्वामी ! तिम्रा दिनहरूमा ममाथि जे बितेका छन् ती सबैलाई तिमीले देखिरहेका छौ । जो तिम्रा नामहरूका दिवास्रोत र तिम्रा सद्गुणहरूको उदयस्थल हुनुहुन्छ उनको नाम लिएर म तिमीसित विन्ती गर्दछु कि मेरो लागि त्यस्तो आज्ञा गर ताकि म तिम्रो सेवा गर्न र गुणगान गर्न योग्य बन्न सकूँ । निःसन्दहे, तिमी सर्व–शक्तिशाली र सर्वोपरि छौ, जो सबै मानिसका प्रार्थनाहरूलाई ग्रहण गर्दछौ ।
अन्त्यमा, तिम्रो मुखमण्डलको प्रकाशद्वारा म तिमीसित प्रार्थना गर्दछु कि मेरा गतिविधिहरूलाई आशीर्वाद देऊ, मेरा ऋणहरूलाई मोचन गर र मेरा आवश्यकताहरू पूरा गरिदेऊ । तिमी उही हौ, जसको शक्ति र शासनलाई प्रत्येक वाणीले प्रमाणित गरेको छ, जसको वैभव र प्रभुत्वलाई प्रत्येक विवेकी हृदयले स्वीकारेको छ । सबैको प्रार्थना सुन्ने र ग्रहण गर्ने तिम्रो अतिरिक्त अर्को ईश्वर छैन ।
- Bahá'u'lláh