Return to BahaiPrayers.net
Facebook
नव–रुज मार्च २१, बहाई वर्षको पहिलो दिन हो ।
हे प्रभु ! तिम्रो जय होस् ! जसले तिम्रो प्रेमको खातिर व्रतपूरा गरेकाछन् र तिमीलाई मन नपर्ने कुराहरूबाट आफुलाई अलग राखेका छन् तिनका लागि तिमीले नव– रुजलाई उत्सवको रूपमा निर्देशित गरेका छौ । हे मेरा मालिक ! यस्तो वरदान देऊताकि तिम्रो प्रेमको अग्निले तथा तिमीले निर्दिष्ट गरेको व्रतबाट निस्केको तापले तिनलाई तिम्रो धर्ममा प्रदीप्त गराओस् र सधैँ तिम्रो गुणगान गर्नमा र तिम्रो स्मरण गर्नमा तिनले आफुलाई व्यस्त राखून् ।
हे मेरा प्रभु ! जसरी तिमीले तिनलाई व्रतका आभूषणहरूले सजाएका छौ त्यसरी नै आफ्ना कृपा र प्रचुर दयाद्वारा तिनलाई आफ्नो स्वीकृतिका आभूषणहरूले पनि सजाऊ । किनकि मनुष्यका कर्महरू तिम्रै सदिच्छामा निर्भर गर्छन् र तिम्रै आज्ञाद्वारा परिचालित हुन्छन् । यदि व्रत भगं गर्ने कुनै मानिसले व्रत पूरा गरेको हो भनेर तिमीले मान्यौ भने त्यसको गणना तिनीहरूमध्ये हुनेछ जसले अनन्तकालदेखि व्रत राख्दै आएका छन् । र, यदि व्रत पूरा गर्ने कसैले व्रत भंग गरेको हो भन्ने तिमीले आज्ञा गर्यौ भने त्यसको गणना तिनीहरूमध्ये गरिनेछ जसले तिम्रो धर्मको भावनामा आघात पुर्याएका छन् र जसलाई जीवन दायिनी फोहरा देखि निस्केको निर्मल जलबाट वञ्चित गराइएको छ ।
तिमी उही हौ जसद्वारा “तिम्रा कृतिहरूको लागि तिमी प्रशंसा योग्य छौ” नामको झण्डा फर्फराइएको छ र “तिम्रो आज्ञा सबैले पालन गर्दछन्” भन्ने कथन स्थापित भइसकेको छ । हे मेरा प्रभु ! तिम्रा सेवकहरूलाई तिम्रो त्यो ओहदाको परिचय देऊ ताकि तिनलाई त्यो कुरा थाहा लागोस् कि सबै वस्तुहरूको श्रेष्ठता तिम्रै वचन र आदेशमा आधारित छ, प्रत्येक कर्म तिम्रै आज्ञा र सदिच्छाद्वारा सद्गुण सम्पन्न हुन्छ र मानिसका कर्महरूको लगाम तिम्रै स्वीकृतिको पकडभित्र छ र तिम्रै आदेशद्वारा नियन्त्रित छ । तिनलाई यो कुरा अवगत गराइदेऊ ताकि “हे यीशुलाई जन्माउने महान् आत्मा ! सारा साम्राज्य तिम्रै हो” भनरे क्राइष्टले भनेका यी दिनहरूमा र “हे तिमी जो परम प्रिय छौ, तिम्रो जय होस्, किनकि तिमीले आफ्नो सौन्दर्यलाई प्रकट गराएका छौ र आफ्ना चुनिएकाहरूको लागि त्यो कुरा लेखिदिएका छौ जसले तिनलाई तिम्रो अत्यन्त महान् नामको प्रकटीकरणको सिंहासनमा उपस्थित हुन सक्ने गराएको छ, जसले गर्दा तिमीबाहेक अरू सबै कुराहरूबाट आफुलाई अलग्ग गराउनेहरू बाहेक र तिम्रा सद्गुणहरूका प्रकटकर्ता र तिमी स्वयंका अवतार जो हुनुहुन्छ उहाँतर्फ अग्रसर भएकाहरू बाहेक अन्य सबै विलाप गरिरहेका छन्” भन्दै तिम्रा साथी मुहम्मदले कराएर भनेका यी दिनहरूमा तिम्रो सौन्दर्य देख्नबाट कुनै पनि कुराले तिनीहरूलाई नछेकोस् ।
हे मेरा प्रभु ! तिम्रो हाँगा जो हुनुहुन्छ, उहाँले र तिम्रा सबै साथीहरूले आजको दिनमा आ–आफ्नो व्रत तोडेका छन् जुन व्रत तिनले तिम्रो दरबारको प्रांगणभित्र तिमीलाई प्रसन्न गराउने तीव्र इच्छाले राखेका थिए । उहाँको लागि, तिनीहरूको लागि र यी दिनहरूमा तिम्रो सात्रिध्य प्राप्त गर्ने ती सबैको लागि तिम्रो पुस्तकमा तिमीले निर्धारित गरेका असल उपहारहरूको वरदान देऊ र तिनलाई यो लोक र परलोक दुवैमा कल्याण हुने वस्तुहरूको आपूर्ति गरिदेऊ ।
तिमी, साँच्चै नै सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।
- Bahá'u'lláh